सद्भाव कायम राख्न प्रधानमन्त्री बालेनको राष्ट्रका नाममा सम्बोधन, अफवाह नफैलाउन आग्रह, राष्ट्रपतिलाई सुरक्षा अवस्थाबारे ब्रिफिङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, साउन १४ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार गम्भीर रहेको बताउँदै सम्पूर्ण नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न अपिल गरेका छन्।
बिहीबार राष्ट्रका नाममा नेपाली र मैथिली भाषामा करिब ४ मिनेट २८ सेकेन्डको सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतक जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिए। उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
उनका अनुसार थप अप्रिय घटना हुन नदिन सुरक्षा निकाय परिचालन गरिएको छ भने केन्द्रमा सर्वदलीय बैठक बसेर आवश्यक छलफल गरिएको छ। स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको पनि उनले बताए।
प्रधानमन्त्री शाहले गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारी घटनास्थलतर्फ खटिएको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट आवश्यक निर्णयसमेत भइसकेको जानकारी गराए।
सम्बोधनका क्रममा उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरे। सरकारी निकायबाट जारी आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न उनले सबैसँग अनुरोध गरे।
प्रधानमन्त्रीले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि सरकारले कडा कदम चाल्ने चेतावनी दिए।
उनले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालना गर्ने मौलिक हक दिएको स्मरण गराउँदै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई स्वीकार नगर्ने बताए। एउटा स्थानमा भएको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा अन्यत्र प्रतिशोध फैलाउनु कुनै पनि दृष्टिले उचित नहुने उनको भनाइ थियो।
“हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेको छ,” भन्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिक, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज तथा धार्मिक समुदायलाई धैर्य र संयमता अपनाई राष्ट्रिय एकता कायम राख्न अपिल गरे। उनले सम्बोधनको अन्तिम भाग मैथिली भाषामा पनि प्रस्तुत गरेका थिए।
यसैबीच राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
भेटमा प्रधानमन्त्रीले सुनसरी, सिरहालगायत जिल्लामा उत्पन्न तनाव, शान्ति–सुरक्षा कायम गर्न सरकारले गरिरहेको प्रयास तथा तराई–मधेस क्षेत्रमा सेना सहित सुरक्षा निकाय परिचालन गरिएको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपतिले वर्तमान विषम परिस्थितिलाई शीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्था कायम गर्न तथा सबै राजनीतिक दल र सरोकारवालालाई साथमा लिएर संयमतापूर्वक समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। साथै नागरिकले शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।

Leave a Comment