२४ पुस,बारा-बारामा यातायात व्यवस्था कार्यालय कलैयाका ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि मोविल प्रहार भएको छ। बिहीबार दिउँसो कलैया उपमहानगरपालिका–३ गंगापुरस्थित आफ्नै कार्यकक्षमा काम गरिरहेका बेला युवाहरूको समूहले उनीमाथि मोविल प्रहार गरेको हो।
पौडेलका अनुसार एक्कासी केही युवाहरू कार्यकक्षमा प्रवेश गरी आफू माथि मोविलको बोतल छर्केर फरार भएका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा भइरहेको छ। भिडियोमा मोविल प्रहार गर्ने युवाले आफूलाई ‘जेन–जी’ समूहसँग आबद्ध रहेको दाबी गरेको सुनिन्छ।
यस घटनाबारे जेन–जी कलैयाका संयोजक शौरव पाण्डेसँग बुझ्दा उनले आफूहरू भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको दाबी गरे। यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता र भ्रष्टाचार व्याप्त रहेको आरोप लगाउँदै पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुधार नआएपछि असन्तोष चुलिएको उनको भनाइ छ।
त्यसैगरी, जेन–जीका सहसचिव आनन्द गुप्ताले सरकारी सवारीसाधनमा निजी नम्बर प्लेट प्रयोग गरिएको, टुर एण्ड ट्राभल्स एजेन्सीको सिफारिसमा आर्थिक लेनदेनका आधारमा लाइसेन्स पास गराउने जस्ता गतिविधि भइरहेको आरोप लगाए। यस्ता विषयमा ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएकाले घटनाको अवस्था सिर्जना भएको उनीहरूको दाबी छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले यातायात व्यवस्था कार्यालयबाट कारबाहीका लागि लिखित निवेदन प्राप्त भएको जानकारी दिए। उनले भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान गरी खोजतलास भइरहेको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइएको बताए।
उल्लेखनीय छ, केही दिनअघि मात्र यातायात व्यवस्था कार्यालय कलैयामा तत्कालीन कार्यालय प्रमुख अविन्दर दास र खरिदार सत्यनारायण साहबीच आर्थिक लेनदेनको विषयमा कार्यकक्षमै कुटपिट भएको घटना सार्वजनिक भएको थियो। लगातार विवादमा तानिँदै आएको उक्त कार्यालय पुनः हिंसात्मक घटनाका कारण चर्चामा आएको छ।

