काठमाडौं, साउन १५ — मधेशका विभिन्न जिल्लाबाट निर्वाचित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नो क्षेत्रमा थप हिंसा र तनाव फैलिन नदिन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफलमा सहभागी सांसदहरूले स्थानीय तहमा संवादलाई निरन्तरता दिने, अफवाह फैलाउने गतिविधिमाथि निगरानी बढाउने तथा सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल गर्ने बताएका हुन्।
सांसदहरूले सरकारलाई पनि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउन, मदिरा बिक्री–वितरणमा नियन्त्रण गर्न, अवस्था सामान्य बन्दै गएपछि क्रमिक रूपमा कर्फ्यु हटाउन तथा युवामाझ सामाजिक सद्भावसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्।
धनुषा–३ का सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने व्यक्तिमाथि प्रेस काउन्सिलमार्फत कारबाहीको व्यवस्था गर्नुपर्ने बताए। उनले पछिल्ला घटनामा १२ देखि २२ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएकाले उनीहरूलाई लक्षित गरी सचेतनामूलक अभियान सञ्चालन गर्न सुझाव दिए।
कपिलवस्तु–२ का सांसद विक्रम थापाले यस्ता घटनामा समयमै सरोकारवालाबीच संवाद गराउँदा तनाव नियन्त्रण गर्न सहज हुने अनुभव सुनाउँदै सामाजिक सञ्जालमा फैलिने अफवाहमाथि प्रभावकारी निगरानी आवश्यक रहेको बताए।
रौतहटकी सांसद गजाला शमिम मिकरानीले तत्काल समस्या समाधानसँगै भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन योजना आवश्यक रहेको बताइन्। उनले विद्यालय र कलेज तहदेखि नै सामाजिक सद्भावसम्बन्धी कार्यक्रम सञ्चालन गर्न तथा अल्पसंख्यक समुदायका सरोकारलाई विशेष प्राथमिकता दिन आग्रह गरिन्।
बारा–४ का सांसद रहबर अन्सारीले यस्ता घटनाको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। वीरगञ्ज, बारा लगायतका संवेदनशील क्षेत्रमा समयमै सतर्कता अपनाउनुपर्ने र सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमपूर्ण सामग्रीमाथि निगरानी बढाउनुपर्ने उनको भनाइ थियो।
कपिलवस्तु–१ का सांसद मोहनलाल आचार्यले युवालाई साथमा लिएर सामाजिक सद्भावको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए भने धनुषा–४ का सांसद राजकिशोर महतोले स्थानीयस्तरका विश्वासिला व्यक्तिलाई परिचालन गर्दा तनाव नियन्त्रण प्रभावकारी हुने धारणा राखे।
बारा–२ का सांसद चन्दनकुमार सिंहले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अत्यधिक आवाजमा बजाइने डिजेका कारण समुदायबीच विवाद बढ्ने गरेको उल्लेख गर्दै त्यसको नियमन आवश्यक रहेको बताए।
सर्लाही–१ की सांसद नितिमा कार्की (भण्डारी)ले जिल्लाको अवस्था हाल सामान्य रहेको जानकारी दिँदै छिटपुट रूपमा तनाव सिर्जना गर्ने प्रयास भए पनि त्यसलाई नियन्त्रण गरिएको बताइन्। उनले डिजे प्रयोगमा स्पष्ट मापदण्ड बनाउन, जनप्रतिनिधिलाई संवेदनशील अवस्थामा सक्रिय राख्न तथा समुदायसँग नियमित संवाद कायम गर्नुपर्नेमा जोड दिइन्।
बैठकमा सहभागी सांसदहरूले पछिल्लो तनावलाई केवल सुरक्षा चुनौतीका रूपमा नभई सामाजिक, राजनीतिक र सूचना व्यवस्थापनसँग जोडिएको विषयका रूपमा हेरी समग्र समाधान खोज्नुपर्ने निष्कर्षसमेत व्यक्त गरेका थिए।
मधेशमा शान्ति कायम गर्न सक्रिय भूमिका खेल्ने सांसदहरूको प्रतिबद्धता, प्रधानमन्त्रीसँग विभिन्न सुझाव
Leave a Comment
Leave a Comment

