काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। प्रहरीले मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको पुष्टि गरेको हो।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार अर्जुनले अरू व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्रसहित विभिन्न परिचयपत्र तथा कागजात प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार त्रिपुरेश्वर घटनामा उनले दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको छ। त्यस्तै, दावा लामाकै नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्य अनुसन्धानका क्रममा खुलेको एसएसपी घिमिरेले बताएका छन्।
प्रहरी अनुसन्धानमा अर्जुन यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको खुलेको छ। २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा उनी संलग्न रहेको प्रहरीको भनाइ छ। उक्त घटनापछि उनी फरार रहेका थिए।
बालाजु घटनामा समेत अर्जुनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
यसैगरी, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अर्जुनले अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा सरकारी कागजातसमेत प्रयोग गरेको हुन सक्ने भएकाले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

