गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच पुनः वार्ता, १८ बुँदे मौखिक सहमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जनकपुरधाम, साउन १७ — संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार जनकपुरधाममा पुनः वार्ता सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा यसअघि भएका सहमतिलाई थप स्पष्ट पार्दै १८ बुँदे मौखिक सहमति भएको दुवै पक्षले बताएका छन्।
वार्तामा मोर्चाले आफ्ना मागहरू समेटिएको संशोधित मागपत्र गृहमन्त्रीलाई बुझाएको थियो। यसअघि शनिबार भएको १३ बुँदे सहमतिमा रहेका केही अस्पष्ट विषयहरूलाई स्पष्ट पार्ने उद्देश्यले पुनः छलफल गरिएको जनाइएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार वार्तामा हस्ताक्षर, लेटरप्याड तथा सहमतिका केही बुँदाबारे देखिएका अन्योल हटाइएको छ। गृहमन्त्रीले सार्वजनिक रूपमा उठेका जिज्ञासाको समेत स्पष्ट जवाफ दिएपछि मोर्चा सन्तुष्ट भएको र घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएको उनले जानकारी दिए।
संयुक्त हिन्दू मोर्चासम्बद्ध हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले पनि वार्तामा केही बुँदा सच्याइएको र सरकारबाट मागहरू सम्बोधन गर्ने प्रतिबद्धता प्राप्त भएको बताए। उनका अनुसार गृहमन्त्रीले आन्दोलनका क्रममा बल प्रयोग नगर्ने तथा गोली चलाउने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि शनिबार राति प्रस्तुत गरिएको १३ बुँदे मागपत्रमा हिन्दू राष्ट्र स्थापनासम्बन्धी प्रस्तावदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिनेसम्मका विषय समेटिएका थिए। आइतबारको वार्तापछि ती विषयलाई थप स्पष्ट पार्दै सहमतिलाई १८ बुँदामा विस्तार गरिएको जनाइएको छ।
सरकार र संयुक्त हिन्दू मोर्चाबीच भएको पछिल्लो सहमतिसँगै जनकपुर केन्द्रित आन्दोलन तत्कालका लागि स्थगित भएको छ भने मागहरूको कार्यान्वयन प्रक्रिया भने आगामी चरणमा अघि बढाइने बताइएको छ।

Leave a Comment