इरान–अमेरिका वार्ता आजदेखि, अन्तिम समयमा सैन्य आक्रमण रोकेको ट्रम्पको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन १८ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि योजना बनाइएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरिएको दाबी गर्दै सोमबारदेखि दुवै देशबीच पुनः कूटनीतिक वार्ता सुरु हुने बताएका छन्।
सप्ताहन्त न्यू जर्सीस्थित आफ्नो बेडमिन्स्टर गल्फ क्लबमा बिताएर एयर फोर्स वनमार्फत फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सैन्य कारबाहीका सबै तयारी पूरा भए पनि मित्रराष्ट्रहरूको आग्रहपछि युद्धको सट्टा वार्ताको बाटो रोजिएको बताए।
उनका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार तथा इरानबाट समेत तनाव कम गरी सम्झौतामार्फत समाधान खोज्न दबाब आएपछि आक्रमणको योजना रोकिएको हो। ट्रम्पले आक्रमणको प्रकृतिबारे थप खुलाउन भने अस्वीकार गरे।
यसबीच साउदी युवराज मोहम्मद बिन सलमानले पनि ट्रम्पसँग टेलिफोन संवाद गर्दै क्षेत्रीय तनाव नबढाउन र कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेको साउदी सरकारी समाचार संस्थाले जनाएको छ।
ट्रम्पका अनुसार आगामी वार्ताको मुख्य एजेन्डा हार्मुज जलमार्गको सुरक्षा, सञ्चालन तथा इरानको निशस्त्रीकरणसँग सम्बन्धित दीर्घकालीन सम्झौतामा केन्द्रित हुनेछ।
उता इरानले अमेरिकासँग भएको अघिल्लो समझदारीको पूर्ण कार्यान्वयन हुनुपर्ने अडान दोहोर्याएको छ। इरानी विदेशमन्त्री अब्बास अराक्ची र विदेश मन्त्रालयका प्रवक्ता इस्मायल बघाईले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको संकेत दिएका छन्।
यद्यपि हार्मुज जलमार्गमा शुल्क व्यवस्थापन, शुल्कको दर तथा आवागमनसम्बन्धी प्रावधानहरूमा भने अझै सहमति जुट्न बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत जुन महिनामा युद्ध अन्त्यका लागि दुवै पक्षबीच लडाइँ रोक्ने समझदारी भएको थियो। तर हार्मुज जलमार्गको सुरक्षा र नियन्त्रणलाई लिएर पुनः तनाव बढेपछि उक्त सहमति प्रभावहीन बनेको थियो। अहिले पुनः सुरु हुन लागेको वार्ताले क्षेत्रीय स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment