सर्लाहीमा कारबाट १०९ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सर्लाही, साउन १८ — सर्लाही प्रहरीले पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान लालबन्दी नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा नियमित सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट करिब १०९ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ५:३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कारलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएका २३ वटा पोकाभित्र ठूलो परिमाणमा गाँजा फेला परेको हो।
घटनामा कार चालक भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो तथा सोही स्थानका २५ वर्षीय अमन कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, कार तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Comment