सुनसरी, असोज २ । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान तीव्र गतिमा गुडिरहेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

