क्यानबेरा, असोज २ । अस्ट्रेलियामा प्रस्तावित कडा आप्रवासन नीतिको विरोधमा विद्यार्थीहरूले विभिन्न सहरमा प्रदर्शन गरेका छन्। वन नेसन पार्टीले अस्थायी भिसा र आप्रवासनको संख्या उल्लेख्य रूपमा घटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्।
राजधानी क्यानबेराको गारेमा प्लेसमा बिहीबार दिउँसो ‘स्टुडेन्ट्स से नो टु ह्यान्सन’ नाममा प्रदर्शन गरिएको थियो। हाई स्कुल एन्टी–क्यापिटलिस्ट्सको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले वन नेसनकी नेतृ पाउलिन ह्यान्सनको आप्रवासनसम्बन्धी प्रस्तावको विरोध गरेका थिए।
सेप्टेम्बर १७ को प्रदर्शन यसअघि अगस्ट १३ मा भएको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनको निरन्तरता हो। पहिलो चरणमा सिड्नी, मेलबर्न र ब्रिसबेनलगायत प्रमुख सहरमा उच्च माध्यमिक तथा विश्वविद्यालयका विद्यार्थीहरूले कक्षा बहिष्कार गर्दै सडक प्रदर्शन गरेका थिए।
यसपटक पनि सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड, डार्विन र होबार्टलगायत सहरमा प्रदर्शन भएका छन्। सिड्नीमा भएको प्रदर्शनमा एक हजारभन्दा बढी मानिस सहभागी भएको बताइएको छ भने मेलबर्नमा पनि ठूलो संख्यामा विद्यार्थी सडकमा आएका थिए।
वन नेसनले सेप्टेम्बर १४ मा आगामी तीन वर्षभित्र अस्ट्रेलियामा रहेका अस्थायी भिसाको संख्या ७ लाख ५० हजारभन्दा बढीले घटाउने योजना सार्वजनिक गरेको छ। पार्टीले उक्त योजनालाई आफ्नो आप्रवासन नीतिको महत्वपूर्ण आधारका रूपमा अघि सारेको छ।
प्रस्तावअनुसार वार्षिक विद्यार्थी भिसाको संख्या करिब २ लाख ९१ हजारबाट घटाएर १ लाख १५ हजारमा सीमित गर्ने योजना छ। त्यसैगरी, अध्ययनपछि बस्न पाउने ग्राजुएट भिसा तथा विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा समेत कटौती गर्ने प्रस्ताव गरिएको छ।
वन नेसनको यस्तो नीतिले अन्तर्राष्ट्रिय विद्यार्थी, विश्वविद्यालय तथा बहुसांस्कृतिक समुदायमा चासो र बहस बढाएको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आप्रवासन, बहुसांस्कृतिकता तथा सामाजिक अधिकारका विषयमा पार्टीको प्रस्तावप्रति असहमति जनाएका थिए।
अगस्टमा भएको प्रदर्शनका क्रममा केही स्थानमा वन नेसन समर्थक र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएपछि प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। त्यसपछि विद्यार्थी समूहहरूले सेप्टेम्बर १७ मा पुनः राष्ट्रव्यापी प्रदर्शन गर्ने घोषणा गरेका थिए।
यसैबीच, वन नेसनको बढ्दो राजनीतिक समर्थन पनि पछिल्लो विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा जोडिएको छ। सेप्टेम्बर ७ देखि १३ सम्म रोय मोर्गनले गरेको सर्वेक्षणमा वन नेसनको प्राथमिक मत समर्थन २५ प्रतिशत देखिएको थियो। सर्वेक्षणमा अस्ट्रेलियाभरका १ हजार ५ सय ८३ मतदातालाई समेटिएको थियो।
वन नेसन र पाउलिन ह्यान्सनले भने विद्यार्थीहरूको विरोध तथा पार्टीको आप्रवासन नीतिमाथि भइरहेको आलोचनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्। ह्यान्सनले यसअघि विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेरै आफू र आफ्नो पार्टीले काम गरिरहेको दाबी गरेकी थिइन्।
अस्ट्रेलियाको नयाँ आप्रवासन नीतिविरुद्ध विद्यार्थीको प्रदर्शन
Leave a Comment
Leave a Comment

