भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छुट्टाछुट्टै लिए ब्रिफिङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ १५ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट व्यवस्थापनका विषयमा प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढीपछि भइरहेका खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका कामबारे विस्तृत जानकारी लिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सुरक्षा निकायमार्फत अहिलेसम्म भएका उद्धार तथा राहतका गतिविधि, प्रभावित क्षेत्रमा देखिएका समस्या र आगामी व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्।
सुरक्षा निकायका अन्य प्रमुखसँग पनि प्रधानमन्त्री शाहले सोमबार नै छुट्टाछुट्टै ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

कार्यतालिकाअनुसार उनले केहीबेरपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गर्नेछन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। यही क्रममा प्रधानमन्त्री शाहले सुरक्षा निकायबाट प्रत्यक्ष रूपमा पछिल्लो अवस्थाबारे जानकारी लिन थालेका हुन्।

Leave a Comment