साढे पाँच महिनापछि आज नेपाल फर्किँदै पूर्वप्रधानमन्त्री देउवा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि आज बिहीबार स्वदेश फर्किँदै छन्।

देउवा पत्नी आरजु राणा देउवासहित थाइल्यान्डबाट दिउँसो काठमाडौं आउने तयारीमा छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दिउँसो साढे १२ बजे थाई एयरको विमानमार्फत काठमाडौं अवतरण गर्नेछन्।

यसअघि उनी साउन २६ गते राति नेपाल फर्किने तयारीमा थिए। तर रातिको समयमा स्वागतमा असहज हुने भन्दै उनको आगमन दुई दिन पछि सारिएको हो। देउवा पक्षले उनको स्वागतका लागि तयारीसमेत गरेको छ।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि भारत भ्रमणमा रहेकी उनकी पत्नी आरजु राणा पनि उपचारका लागि सिंगापुर पुगेकी थिइन्। पछि दुवै जना थप उपचारका लागि हङकङ गएको बताइएको थियो। त्यसयता उनीहरू कहाँ रहे भन्नेबारे भने औपचारिक रूपमा स्पष्ट जानकारी सार्वजनिक गरिएको थिएन।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएपछि उनीहरू थप उपचारका लागि विदेश गएका थिए।

यसैबीच देउवा दम्पती विदेशमै रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर पक्राउ पुर्जी रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन्। कांग्रेस देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको आयोजक समिति पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा गठन गरिएको छ।

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ। भेलाको उद्घाटन सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने तय गरिएको छ।

Leave a Comment