एमाले महाधिवेशनमा ई–भोटिङ सुरु, शीर्ष नेताकै मतदानमा ४० मिनेट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २ पुस — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा मतदान प्रक्रिया सुरु भएको छ। मतदानको औपचारिक सुरुवात अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरे।

ई–भोटिङ मेसिनमार्फत मतदान गर्दा शीर्ष नेताहरुलाई नै करिब ४० मिनेट समय लागेको प्राविधिक टोलीले जनाएको छ। अध्यक्षका प्रत्याशी ओली र पोखरेलसँगै महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले पनि मतदानमा उस्तै समय खर्चिएका थिए।

मंगलबार साँझ सुरु गर्ने तयारी भए पनि प्राविधिक समस्याका कारण मतदान आज बिहानका लागि सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि केही ढिलाइपछि प्रक्रिया अघि बढेको हो। तर प्रतिनिधिहरु भने बिहानैदेखि मतदानस्थलमा लाइनमा बसेका थिए।

निर्वाचन आयोगका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका ती मेसिनबाट कुल २ हजार २६३ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्।

शीर्ष नेताहरुले मतदान गरेपछि प्रतिनिधिहरुको लाम लामै देखिएको छ। लाइनमै पुगेर उम्मेदवारहरुले मत मागिरहेका दृश्य पनि देखिएका छन्, जसले महाधिवेशनको राजनीतिक सरगर्मी थप चर्काएको छ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्। प्यानल बाहिर रहेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मतदान जारी रहँदा भृकुटीमण्डप क्षेत्र राजनीतिक छलफल, भेटघाट र समर्थन जुटाउने गतिविधिले निकै चहलपहलपूर्ण बनेको छ।

Leave a Comment