काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच सोमबार जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा दुई देशका सेनाबीचको आपसी हित, पारस्परिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख सेठले भेटवार्ताअघि सैनिक मञ्च टुँडिखेलमा पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई नेपाली सेनाले जङ्गीअड्डामा गार्ड अफ अनर प्रदान गरेको थियो।
सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीचको सैन्य सम्बन्धमा दुवै देशका स्थल सेनाध्यक्षलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यही परम्पराअनुसार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ आइतबार काठमाडौं आएका हुन्।

