काठमाडौँ । वैकल्पिक व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली गर्न दबाब दिएको भन्दै सुकुम्बासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाइएपछि होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई उचित पुनःस्थापना नगरी हटाउन खोजिएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले बस्ती हटाए पनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको भन्दै आपत्ति जनाए। उनले भूमिहीन, सुकुम्बासी तथा गरिब नागरिकको समस्या समाधान नगरी विस्थापित गर्न नहुने बताए।
उनका अनुसार सुकुम्बासी समस्या केवल एउटा समूहको मात्र नभई समाजकै साझा विषय भएकाले राज्य, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजले ध्यान दिनुपर्ने आवश्यकता छ।
यसअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न समय दिएको थियो। समितिले असार १९ गतेसम्म सेन्टर खाली गर्न समय थप गरेको जनाएको छ।
गत वैशाखमा काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिएको थियो। उनीहरूले भने स्थायी विकल्प नदिएसम्म हटाउन नहुने माग गर्दै आएका छन्।
वैकल्पिक आवासको माग गर्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन
Leave a Comment
Leave a Comment






