संघीय कार्यालयमा अब हरेक १५ दिनमा तलब र भत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् ।

सरकारले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
महालेखा नियन्त्रक कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र पठाउँदै नयाँ व्यवस्थाअनुसार भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका कर्मचारीलाई महिनामा दुईपटक तलब भुक्तानी गर्ने निर्णय गरेको थियो । तर, आवश्यक प्रणाली विकास हुन नसक्दा निर्णय तत्काल कार्यान्वयनमा आउन सकेको थिएन ।
महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयसँगै अब प्रत्येक १५ दिन पूरा भएपछि कर्मचारीको तलब तथा भत्ता भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो ।
सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रभित्र पर्ने संघीय निकायबाट अर्धमासिक तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भए आवश्यक प्रक्रिया पूरा गरी निकासा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।
सरकारले सुरुमा अर्थ मन्त्रालयबाट अर्धमासिक तलब भुक्तानीको अभ्यास थालेको थियो । चालु आर्थिक वर्षदेखि यो व्यवस्था सबै संघीय निकायमा विस्तार गर्ने निर्णय भए पनि प्रणालीगत तयारीका कारण कार्यान्वयनमा करिब एक महिना ढिलाइ भएको हो ।

Leave a Comment