प्रधानमन्त्री शाहको खुलासा : भोटेकोसी सुरुङ उद्धारमा तीन देशका विशेषज्ञ खटिए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीपछि सुरुङभित्र सम्पर्कविहीन भएका कर्मचारी तथा मजदुरको खोजीका लागि नेपालले तीन देशका विशेषज्ञको सहयोग लिइरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा बाढीबाट भएको क्षति र उद्धारको अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली सुरुङ उद्धारमा परिचालन भएको जानकारी दिए।

सुरुङभित्रको अवस्था जटिल भएकाले उद्धारमा चुनौती थपिएको उनको भनाइ छ। उद्धारमा ढिलाइ भएको भन्दै विभिन्न पक्षबाट आएका गुनासोप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यसकै कारण उद्धार प्रयासमा कुनै कमी नआएको स्पष्ट पारे।

उनले सुरुङमा सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि आवश्यक सबै उपाय अपनाइएको बताए। उद्धार अभियानमा संलग्न टोलीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै कामलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले बाढीबाट ११ जलविद्युत् आयोजना प्रभावित भएको पनि संसदलाई जानकारी गराए। क्षतिग्रस्त आयोजनामध्ये केही पुनः सञ्चालन गर्न ठूलो आर्थिक स्रोत आवश्यक पर्ने देखिएको उनले बताए।
बाढीपछि भइरहेको खोज तथा उद्धारमा संघीय सरकारसँगै प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताए। उनले जोखिम मोलेर उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको सम्मान गर्दै उनीहरूलाई प्रोत्साहन गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

Leave a Comment