कलैया, भदौ ३ — ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले डा. प्रकाशमणि दादीको १९औँ स्मृति दिवसको अवसरमा बारा जिल्लाका तीन स्थानमा बृहत् रक्तदानसँगै योग, ध्यान तथा ज्ञानपान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कलैयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा बुधबार साँझ आयोजित पत्रकार स्नेह मिलन कार्यक्रममा केन्द्रले स्मृति अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमबारे जानकारी गराएको हो।
कार्यक्रमअनुसार भदौ ५ गते शुक्रबार महागढीमाई नगरपालिका–बरियारपुर, भदौ ६ गते शनिबार सिमरा र भदौ ९ गते मंगलबार कलैयामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने ब्रह्माकुमारी सुषमा बहनले जानकारी दिइन्।
रक्तदान कार्यक्रमसँगै सहभागीहरूलाई योग, ध्यान र ज्ञानपान मार्फत आध्यात्मिक चेतना अभिवृद्धि गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताइन्। योग तथा ध्यानले मानसिक शान्ति र सकारात्मक सोचको विकास गर्ने तथा ज्ञानपानमार्फत आत्मअनुशासन, सद्भाव र सेवाभावलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको केन्द्रले जनाएको छ।
सुषमा बहनले धार्मिक तथा आध्यात्मिक गतिविधिलाई सामाजिक सेवासँग जोडेर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। मानव सेवासँगै आध्यात्मिक जागरण र सकारात्मक सोचको विकास समाजका लागि आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै ब्रह्माकुमार राजु घलेले रक्तदानलाई महत्वपूर्ण मानवीय सेवाका रूपमा लिनुपर्ने बताए। समाजमा सेवाभावको विकास गर्न सबै वर्ग र क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले रक्तदानसँगै योग, ध्यान र ज्ञानपानजस्ता कार्यक्रमले व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक पक्षलाई सकारात्मक बनाउन सहयोग पुग्ने धारणा राखे।
केन्द्रले तीनवटै स्थानमा हुने रक्तदान कार्यक्रममा स्थानीय नागरिक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सहभागी हुन आह्वान गरेको छ।
केन्द्रकी प्रमुख मिना दिदीको अध्यक्षतामा आयोजित पत्रकार स्नेह मिलन कार्यक्रममा स्मृति अवसरमा सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग र सहभागिताको अपेक्षा गरिएको थियो।
दादी प्रकाशमणिको स्मृतिमा तीन स्थानमा रक्तदान, योग–ध्यान र ज्ञानपान कार्यक्रम
Leave a Comment
Leave a Comment

