काठमाडौं — नेपालमा गैरसरकारी संस्थाको संख्या ठूलो रहे पनि सक्रिय रूपमा काम गर्ने संस्थाको संख्या भने निकै कम रहेको तथ्यांक सार्वजनिक भएको छ।
समाज कल्याण परिषद्का सदस्य–सचिव चक्र बुढाका अनुसार नेपालमा करिब ६० हजार एनजीओ (गैरसरकारी संस्था) दर्ता छन्। तीमध्ये करिब १० हजार संस्थाले मात्रै नियमित रूपमा काम गरिरहेका छन्।
त्यस्तै, नेपालमा २५० वटा आईएनजीओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) रहेकोमा हाल १३६ वटा मात्र सक्रिय अवस्थामा रहेको उनले जानकारी दिए।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा एनजीओ र आईएनजीओको अवस्थाबारे जानकारी दिँदै सदस्य–सचिव बुढाले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्।
बैठकमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको भन्दै जारी गरेको संयुक्त विज्ञप्तिको विषयमा पनि छलफल भएको थियो।
उक्त विषयमा सांसद यज्ञमणि न्यौपानेले छलफलको माग गरेपछि समितिमा सम्बन्धित संस्थाहरूको अवस्था र कानुनी हैसियतबारे चर्चा भएको हो।
समाज कल्याण परिषद्का अनुसार एमनेस्टी इन्टरनेशनल नवीकरण प्रक्रियामा रहेको छ भने इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको स्वीकृति अवधि सन् २०२७ सम्म कायम छ। त्यस्तै, ह्युमन राइट्स वाचले २०६४ सालमा स्वीकृति लिएपछि हालसम्म नवीकरण नगरेको परिषद्ले जनाएको छ।
नेपालमा एनजीओको संख्या ६० हजार, सक्रिय संस्था १० हजार मात्रै
Leave a Comment
Leave a Comment

