गरिमाको न्याय माग्दै आमाबुबा सडकमा, प्रशासनसँगको सहमति परिवारले ठाडै अस्वीकार गर्‍यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, भदौ ५ । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा पीडित परिवार र प्रशासनबीचको विवाद समाधान हुन सकेको छैन।

प्रशासनले आन्दोलनरत स्थानीयसँग गरेको सहमति परिवारले अस्वीकार गरेपछि वीरगञ्ज–पथलैया सडकखण्डमा धर्ना र अवरोध शुक्रबार पनि जारी छ।
गरिमाका आमाबुबासहित परिवारका सदस्यहरू सडकमा बसेर छोरीका लागि न्याय मागिरहेका छन्। परिवारले आफूहरूसँग कुनै छलफल नगरी रातारात गरिएको सहमतिको औचित्यमाथि प्रश्न उठाएको छ।
गरिमाका बुबा मनोज चौधरीले परिवारलाई जानकारी नै नदिई राजनीतिक दलका प्रतिनिधिसँग गरिएको सहमति आफूहरूले नमान्ने बताए। पीडित परिवारको माग सम्बोधन नभएसम्म सडकबाट नहट्ने उनको भनाइ छ।
मनोजले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमा आएर परिवारसँग प्रत्यक्ष छलफल गर्नुपर्ने माग गरेका छन्। बालबालिकामाथि हुने बलात्कार र हत्याजस्ता घटनामा कडा सजाय सुनिश्चित हुने गरी कानुन परिवर्तन गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने उनको माग छ।
छोरीको बलात्कारपछि हत्या भएको घटनाले आफूहरूलाई गहिरो पीडा दिएको भन्दै मनोजले दोषीलाई कडा सजाय नहुँदासम्म न्याय भएको महसुस नहुने बताए।
गरिमा बेपत्ता भएको समयमा प्रहरीले प्रभावकारी खोजी नगरेको आरोप लगाउँदै स्थानीयले यसअघि इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीको कारबाही माग गरेका थिए। त्यसपछि प्रहरी प्रधान कार्यालयले क्षेत्रीलाई जिम्मेवारीबाट हटाएर केन्द्रमा तानेको छ।
क्षेत्रीको ठाउँमा डीएसपी दयाकृष्ण भट्टलाई सिमरा पठाइएको छ। इन्स्पेक्टर प्रकाश थापालाई पनि जिम्मेवारीबाट हटाइएको प्रहरीले जनाएको छ।
डीएसपी क्षेत्रीको सरुवापछि प्रशासनले स्थानीयसँग पाँचबुँदे सहमति गरेको थियो। तर, उक्त सहमतिमा मृतक परिवारको सहभागिता नरहेको भन्दै परिवारले त्यसलाई स्वीकार नगरेको हो।
यता, लगातार तीन दिनदेखि सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। सडक सञ्चालन गराउन प्रशासनले सुरक्षा निकाय परिचालन गरे पनि परिवारको सहमतिबिना आन्दोलन हटाउन नहुने भन्दै स्थानीयले विरोध जनाएका छन्।
स्थानीयवासीले यातायात सञ्चालनको समस्या समाधान गर्न आफूहरू सकारात्मक रहेको बताए पनि गरिमाका परिवारलाई विश्वासमा लिएर मात्रै सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
गरिमा हत्या प्रकरणमा दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता हुनुपर्ने मागसहित वीरगञ्ज–पथलैया सडकमा जारी आन्दोलन कहिले टुंगिने भन्ने अझै निश्चित भएको छैन।

Leave a Comment