गगन–विश्वको उदयपछि कांग्रेसमा पुस्तान्तरणको संकेत, जेनजी भन्छन्– अब आन्दोलन संस्थागत हुँदैछ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, माघ १ — नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्माको उदयसँगै पार्टीभित्र मात्र होइन, बाहिर रहेका जेनजी (Gen Z) अभियन्ता र युवाहरूमा पनि नयाँ आशा पलाएको छ। लामो समयदेखि सुधार र रिफर्मको माग गर्दै आएका जेनजीहरू कांग्रेसभित्र देखिएको यो नेतृत्व परिवर्तनलाई आफ्नै आन्दोलनको प्रतिफलका रूपमा लिइरहेका छन्।

विशेष महाधिवेशनअघि केही जेनजी प्रतिनिधिहरूले गगन थापासँग भेट गरी पुस्तागत म्यान्डेट, पारदर्शिता र आन्तरिक लोकतन्त्रका विषय उठाएका थिए। ती मागहरूलाई आत्मसात् गर्दै गगन–विश्वले अघि सारेको राजनीतिक प्रतिवेदन र नेतृत्वदायी कदमले जेनजीहरूलाई उत्साहित बनाएको उनीहरूको भनाइ छ।

गगन थापाले पार्टीभित्र मौलाउँदै गएको नातावाद, परिवारवाद र जवाफहीनताकै कारण युवापुस्तामा विद्रोह जन्मिएको उल्लेख गर्दै त्यसको सन्देश ग्रहण गर्ने प्रतिबद्धता जनाएपछि युवाहरूको भरोसा थप बलियो भएको देखिन्छ।

जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बम भन्छिन्, “हाम्रो आन्दोलनको मूल माग नै रिफर्म थियो। यथास्थितिवाद तोडेर नेतृत्व परिवर्तनतर्फ गगन र विश्वले चालेको कदम हाम्रो लागि अत्यन्त सकारात्मक र स्वागतयोग्य छ।”
उनका अनुसार दलहरू सुध्रँदै गए जेनजीहरू मूलधारको राजनीतिमा प्रवेश गर्न हिच्किचाउने छैनन्।

काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ पनि कांग्रेसको यो कदमलाई ‘आवश्यक विद्रोह’ मान्छन्। “लोकतान्त्रिक मूल्य जोगाउन कहिलेकाहीँ विद्रोह अनिवार्य हुन्छ,” उनी भन्छन्, “यो फुट विनाशका लागि होइन, सुधारका लागि भएको हो।”

उनको बुझाइमा विशेष महाधिवेशनपछि कांग्रेसले जवाफदेहिता, आन्तरिक लोकतन्त्र र सुशासनतर्फ ढोका खोलेको छ। “जेनजी आन्दोलनको मर्म बुझेर नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू सलामका पात्र छन्,” उपार्जुनको भनाइ छ।

जेनजी अभियन्ता भावना राउत कांग्रेसभित्र देखा परेको वैचारिक बहस र पुस्तान्तरणलाई समयको माग ठान्छिन्। “नेतृत्वलाई प्रश्न गर्न सक्ने युवाको साहस नै लोकतन्त्रको सुन्दर पक्ष हो,” उनी भन्छिन्।
भावनाका अनुसार अहिले आफू सबै दललाई नियालिरहेको र जेनजी, युवा तथा समावेशिताका मुद्दालाई गम्भीरतापूर्वक लिने दललाई प्राथमिकता दिनेछिन्।

त्यस्तै, अभियन्ता तनुजा पाण्डेले कांग्रेसभित्र आएको नयाँ पुस्ताको नेतृत्वले पार्टीलाई ‘कार्यकर्ताको सीमाबाट निकालेर नागरिकको साझा चौतारी’ बनाउने संकेत दिएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले युवा नेतृत्वको उदयलाई “जमेको पोखरी बग्ने नदी बनेको क्षण” का रूपमा चित्रित गरेकी छन्।

कांग्रेसमा देखिएको यो परिवर्तनले अब जेनजी आन्दोलन सडक र नाराबाट अघि बढेर संस्थागत राजनीतितर्फ मोडिन सक्ने संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

Leave a Comment