पहिचान हुन नसकेका २२९ शव डीएनए नमुना लिएर देवघाटमा गाडिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन — भीषण बाढीपछि चितवनमा संकलन गरिएका पहिचान खुल्न नसकेका शवमध्ये २२९ शवलाई डीएनए नमुना सुरक्षित गरेपछि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

नदी तटीय क्षेत्र र होल्डिङ सेन्टरमा राखिएका शव तथा शवका अवशेषहरू सडेर दुर्गन्धित हुन थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो।

प्रशासनका अनुसार स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय र परिस्थितिको विश्लेषणपछि थप संक्रमण फैलिन नदिन शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो। यसअघि चितवनबाट संकलन गरिएका २३३ शवको पहिचान हुन सकेको छैन

जिल्ला सुरक्षा समितिको भदौ १३ गतेको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम प्रत्येक शवको डीएनए नमुना संकलन गरिनेछ। नमुनालाई सम्बन्धित संकेत नम्बरका आधारमा अभिलेखमा राखिने प्रशासनले जनाएको छ।
डीएनए नमुना संकलन र आवश्यक अभिलेखीकरण पूरा गरेपछि शवहरू भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिनेछ।

प्रशासनले यो निर्णय अत्यन्तै असहज र बाध्यात्मक परिस्थितिमा गरिएको जनाएको छ। साथै, पीडित परिवार तथा सरोकारवालालाई निर्णयलाई सकारात्मक रूपमा लिएर आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ।
प्रशासनले शव व्यवस्थापनका कारण पीडित परिवारजनमा पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना समेत गरेको छ।

Leave a Comment