काठमाडौँ, भदौ १४। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिको विवरण थप भयावह बन्दै गएको छ।
बाढीपछि सम्पर्कविहीन भएकामध्ये हालसम्म ७५२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव विभिन्न जिल्लाबाट फेला परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा २५९ वटा फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने २ हजार ५०२ जना अझै बेपत्ता छन्।
बाढीले नदी किनारका बस्ती तथा भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएपछि बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई तीव्रता दिइएको छ।

