९ पुस,मुगु । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) नियन्त्रणबाहिर जान थालेपछि स्थानीय तहमा गम्भीर चिन्ता बढेको छ । पछिल्लो १७ दिनमा मात्रै राराछायानाथ नगरपालिका–१२ स्थित बाम गाउँमा पाँच जनाको ज्यान गएको छ, जसमा शिशु र साना बालबालिकासमेत छन् ।
प्रकोप तीव्र बन्दै जाँदा मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध हुँदा बिरामीहरू भुइँमै उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।
अस्पतालको भौतिक र प्राविधिक अवस्था पनि अत्यन्त कमजोर छ । लामो समयदेखि एक्स–रे मेसिन बिग्रिएको छ भने अक्सिजन प्लान्ट सञ्चालनमा छैन । आवश्यक औषधि, मेडिकल उपकरण र स्वास्थ्यकर्मीको अभावले गम्भीर बिरामीको उपचार थप जटिल बनेको छ ।
यसैबीच स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा युवाहरूको टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल आपतकालीन विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेको छ । उनीहरूले हालको अवस्थालाई ‘आपतकालीन स्वास्थ्य संकट’को संज्ञा दिँदै केन्द्र सरकारको प्रभावकारी हस्तक्षेप नदेखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।
युवाहरूले बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहित चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउनुपर्ने, बिग्रिएका अक्सिजन प्लान्ट र एक्स–रे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्नुपर्ने, साथै इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी औषधि र उपकरणको पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, हालको ५० शय्याको अस्पताललाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग पनि अघि सारिएको छ ।
स्थानीयले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला महामारी स्मरण गर्दै समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने चेतावनी दिएका छन् ।
मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य रोग नभई राज्यको संवेदनशीलता, तत्परता र जवाफदेहिताको परीक्षा बनेको स्थानीयको भनाइ छ । उनीहरूले ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन् ।

