काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा रुस–युक्रेन युद्ध अन्त्य गर्नुपर्ने पक्षमा भारत रहेको बताएका छन्।
किर्गिस्तानको राजधानी बिस्केकमा जारी एससीओ शिखर सम्मेलनका क्रममा सोमबार मोदी र पुटिनबीच द्विपक्षीय भेटवार्ता भएको हो। भेटमा मोदीले युद्धका कारण मानवतामाथि परेको असरबारे चिन्ता व्यक्त गर्दै शान्तिका सबै प्रयासलाई भारतले निरन्तर समर्थन गर्ने बताए।
मोदीले युक्रेनको अवस्थाबारे आफूहरूबीच यसअघि पनि विस्तृत छलफल हुँदै आएको उल्लेख गर्दै भने, ‘युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेल्छ भने शान्तितर्फ चालिएका हरेक कदमले नयाँ आशा सिर्जना गर्छ।’
उनले विश्व समुदाय ‘अन्तहीन युद्ध’बाट ‘युद्ध अन्त्य’तर्फ अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार युद्धको अन्त्य मानव कल्याणका लागि आवश्यक छ।
भेटका क्रममा मोदीले पुटिनको पछिल्लो भारत भ्रमणलाई स्मरण गर्दै त्यसलाई सफल र अविस्मरणीय भ्रमणका रूपमा उल्लेख गरे। भारत–रुसबीचको सहकार्य नयाँ उचाइमा पुगिरहेको र दुवै देशका जनताको हितलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ थियो।
मोदीले केही दिनमै भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै पुटिन र उनको प्रतिनिधिमण्डललाई भारत भ्रमणका लागि स्वागत गर्न आफूहरू आतुर रहेको बताए। पुटिनको भ्रमणले दुई देशबीचको सम्बन्धसँगै ब्रिक्सभित्रको संवाद र सहकार्यलाई थप मजबुत बनाउने उनले विश्वास व्यक्त गरे।
जवाफमा राष्ट्रपति पुटिनले पनि भारत र रुसबीचको सम्बन्ध निरन्तर सुदृढ हुँदै गएकोमा खुसी व्यक्त गरे। दुई देशबीच विकसित व्यावसायिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन मोदीको विशेष योगदान रहेको भन्दै पुटिनले उनलाई धन्यवाद दिए।

