काठमाडौं, २१ भदौ। इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि त्यसबाट निस्किएको खरानीका कारण हवाई सेवा प्रभावित भएको छ।
ज्वालामुखीको खरानी हावामा फैलिएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा समेत असर परेको हो।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार उडान स्थगित तथा प्रभावित हुँदा अन्तर्राष्ट्रिय उडानसहित कुल २०९ उडानमा असर परेको छ।
शुक्रबार रातिदेखि अनाक क्राकाटाउबाट विस्फोट सुरु भएको थियो। विस्फोटसँगै निस्किएको खरानी सुमात्राको लाम्पुङदेखि जाभाको बान्टेन प्रान्तसम्म फैलिएको बताइएको छ।
ज्वालामुखीको खरानीका कारण प्रभावित क्षेत्रमा दैनिक जनजीवनसमेत असहज बनेको छ। केही विद्यालय बन्द गरिएका छन् भने समुद्री क्षेत्रमा माछा मार्ने गतिविधि पनि रोकिएको छ।
यसैबीच, विपद् न्यूनीकरणसम्बन्धी निकायले ज्वालामुखी विस्फोटपछि तत्काल सुनामीको जोखिम भने नरहेको स्पष्ट पारेको छ।

