बारा । बाराको पचरौता नगरपालिका–७ स्थित धान खेतबाट प्रहरीले १५१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
गए राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया र सशस्त्र प्रहरी बल नेपाल, बिओपी बेनौलीको संयुक्त टोलीले एम्बुस थापी निगरानी गरिरहेको थियो। सोही क्रममा बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतको आली हुँदै ८/९ जना अपरिचित व्यक्तिहरू पिठ्यूँमा झोला बोकेर आइरहेको अवस्थामा प्रहरीले देखेको थियो।
प्रहरी टोलीले उनीहरूलाई पछ्याएपछि ती व्यक्तिहरूले पिठ्यूँमा बोकेर ल्याएको गाँजाका पोका धान खेतमा फालेर फरार भएका थिए।
प्रहरीले खेतबाट ९ वटा पोका बरामद गरी तौल गर्दा जुटको बोरासहित कुल १५१ किलो गाँजा फेला परेको जनाएको छ। प्रत्येक पोकाको तौल करिब १६.७७ किलो रहेको थियो।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको छ। गाँजा फालेर फरार भएका व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

