काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन्।
बुधबार १३३औँ बीपी जयन्तीको अवसरमा कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीको रुख चिह्न र चारतारे झण्डा आफूहरूले पाउने दाबी गरे।
उनले अदालतबाट निस्सा पाउनु आधाभन्दा बढी विजय भइसकेको संकेत भएको बताए। सर्वोच्च अदालतप्रति आफूलाई विश्वास रहेको भन्दै देउवाले निष्पक्ष रूपमा न्याय पाउने अपेक्षा व्यक्त गरे।
गगन पक्षले आधिकारिकता रोक्न प्रयास गरिरहेको आरोप
देउवाले गगन थापा पक्षले पार्टीको आधिकारिकता आफ्नो पक्षमा पार्न विभिन्न प्रयास गरिरहेको आरोप लगाए। पुनरावलोकनमार्फत नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले पाउनुपर्ने विषय रोक्ने प्रयास भइरहेको भए पनि आफूहरू त्यसलाई स्वीकार नगर्ने उनको भनाइ थियो।
उनले अदालतले विगतमा पनि आफूलाई न्याय दिएको स्मरण गर्दै सर्वोच्च अदालतप्रति विश्वास कायम रहेको बताए।
विशेष अधिवेशनबारे देउवाको प्रश्न
देउवाले कांग्रेसको विशेष अधिवेशन बोलाउने विषयमा पनि आफ्नो धारणा राखे। विधानअनुसार विशेष अधिवेशन बोलाउन सकिने भए पनि त्यसमा सहभागी हुने प्रतिनिधिहरूको पहिचान र सनाखत आवश्यक पर्ने उनले बताए।
उनका अनुसार विगतमा सुवर्णशमशेरको सभापतित्वमा विशेष अधिवेशन बोलाउँदा प्रतिनिधिहरूको पूर्ण सनाखत गरिएको थियो। तर, गगन थापाले बोलाएको विशेष अधिवेशनमा प्रतिनिधिहरूको सनाखत नगरेको देउवाको आरोप छ।
उनले आफू सभापति हुँदाहुँदै आफूलाई जानकारी नदिई विशेष अधिवेशन बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
निर्वाचन आयोगको निर्णयप्रति पनि असन्तुष्टि
देउवाले विशेष अधिवेशनपछि आफूहरूले निर्वाचन आयोगमा मुद्दा दायर गरेको प्रसंग उल्लेख गरे। आयोगका तत्कालीन कार्यवाहक प्रमुखले ‘ज्यानको खतरा’ रहेको भन्दै निर्णय लिएको दाबी देउवाले गरे।
उनले आयोगका तत्कालीन प्रमुखमाथि दबाबमा निर्णय गरेको आरोप लगाउँदै आफूहरूको पक्षमा न्याय नभएपछि सर्वोच्च अदालतमा पुनरावलोकनका लागि गएको बताए।
देउवाले सर्वोच्च अदालतले यस विषयमा पनि न्याय दिने विश्वास व्यक्त गर्दै पार्टीको आधिकारिकता विवादमा आफूहरूको पक्ष बलियो रहेको दाबी गरे।

