कलैया, पुस ९
कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले बारा जिल्लाको संगठन विस्तारलाई तीव्र बनाउँदै युवा तथा सामाजिक अभियन्ता सौरभ चौगाईंलाई जिल्ला संयोजकमा नियुक्त गरेको छ।
पार्टीको केन्द्रीय निर्णयअनुसार चौगाईंलाई बारा जिल्लामा संगठन मजबुत बनाउने, युवालाई राजनीतिक अभियानमा सक्रिय रूपमा जोड्ने तथा सामाजिक रूपान्तरणका कार्यक्रम अघि बढाउने जिम्मेवारी दिइएको हो। लामो समयदेखि सामाजिक सेवा, युवासशक्तीकरण र नागरिक सचेतनामा सक्रिय चौगाईंको नियुक्तिलाई पार्टीले बारा जिल्लामा नयाँ राजनीतिक ऊर्जा भित्रिने संकेतका रूपमा लिएको छ।
चौगाईंको नेतृत्वमा कलैयामा १४ वर्षदेखि अलपत्र परेको ३ किलोमिटर सडक निर्माण प्रक्रिया अघि बढाउन भूमिका निर्वाह गर्नु र बारा जिल्लाका स्वतन्त्र ‘जेन–जी’ युवाहरूलाई संगठित गर्ने पहल विशेष उपलब्धिका रूपमा हेरिएको छ। पार्टीका अनुसार यी गतिविधिले स्थानीय तहमा विकास र सहभागितामूलक राजनीतिप्रति आशा जगाएको छ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै जिल्ला संयोजक चौगाईंले उज्यालो नेपाल पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र विकासको एजेन्डा बारा जिल्लामा व्यवहारिक रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे।
“युवाहरूलाई नेतृत्व र निर्णय प्रक्रियामा ल्याउँदै पार्टीलाई जनस्तरसम्म पुर्याउने मेरो लक्ष्य हो,” उनले भने।
पार्टी नेतृत्वले चौगाईंको अनुभव, सक्रियता र सामाजिक योगदानका कारण बारा जिल्लामा उज्यालो नेपाल पार्टीको संगठन थप सशक्त र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।






