बालिका बलात्कार–हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृहमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, भदौ २४ । जितपुरसिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको छ।

बुधबार जिल्ला अदालतको नम्बर १ इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक आदेश जारी गर्दै मुद्दाको थप टुंगो नलागेसम्म दुवै नाबालकलाई बाल सुधार गृहमा राख्न आदेश दिएको हो।

अदालतका श्रेस्तेदार राजकुमार दाहालका अनुसार उनीहरूमाथि शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या अभियोगमा मुद्दा दायर गरिएको छ।

अदालतले पीडित परिवारलाई तत्काल प्रतिवादीबाट क्षतिपूर्ति दिलाउन सक्ने अवस्था नरहेको भन्दै सरकारी पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्तिबापत २ लाख रुपैयाँ उपलब्ध गराउनसमेत आदेश दिएको छ।
यस घटनामा पक्राउ परेका अन्य ७ जना बालिग अभियुक्तमाथिको अनुसन्धान भने जारी छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विमल खतिवडाका अनुसार उनीहरू पक्राउ परेको २५औँ दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिनेछ। त्यसपछि सरकारी वकिल कार्यालयमार्फत अभियोजन दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।

नाबालकको हकमा भने बालबालिकासम्बन्धी कानुनी प्रावधानअनुसार २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने भएकाले उनीहरूमाथि अनुसन्धान प्रतिवेदन पहिले नै पेस गरी अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

मुद्दाको बहस तथा सुनुवाइका क्रममा पीडित बालिकाका बुवाआमा पनि जिल्ला अदालत पुगेका थिए।
गत साउन ३१ गते घरबाट हराएकी बालिकाको शव भदौ २ गते फेला परेको थियो।

घटनापछि बालिकाका लागि न्यायको माग गर्दै बारा, रौतहट, पर्सा र काठमाडौंमा करिब एक सातासम्म आन्दोलन तथा प्रदर्शन भएको थियो।

आन्दोलन चर्किएपछि सरकार र बालिकाका बुवाआमाबीच तीन बुँदे सहमति भएपछि मात्रै बालिकाको अन्त्येष्टि गरिएको थियो।

घटनामा संलग्नमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयस्तरमा निरन्तर दबाबसमेत दिइँदै आएको थियो।

साभार-ekantipur

Leave a Comment