काठमाडौँ, भदौ २५ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले बजारमा देखिएको ग्यास अभावको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताएका छन्।
बिहीबार शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री साहले मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग आवश्यक छलफल गरेपछि ग्यास आपूर्तिसम्बन्धी समस्या समाधानका लागि तत्काल काम अघि बढाउने बताएका हुन्।
पदभार ग्रहणपछि मन्त्री साहले मन्त्रालयको वर्तमान अवस्था, आपूर्ति व्यवस्थापन तथा बजारमा देखिएका समस्याबारे कर्मचारी र निवर्तमान मन्त्री यादवसँग जानकारी लिने बताए। त्यसपछि आवश्यक योजना र कार्यक्रम तय गरी कार्यान्वयनमा जाने उनको भनाइ छ।
विशेषगरी पछिल्लो समय बजारमा देखिएको ग्यास अभावप्रति ध्यान दिँदै मन्त्री साहले आपूर्ति व्यवस्थालाई सहज बनाउन आवश्यक कदम चाल्ने बताएका छन्।
उनले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जनतासँग प्रत्यक्ष जोडिएका आपूर्ति तथा बजारसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने संकेत गरेका छन्।

