जलेको कारभित्र चालकको शव फेला, पहिचान हुन बाँकी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन, भदौ २६ । चितवनको भरतपुरमा आगलागी भएको विद्युतीय कारभित्र चालकको शव फेला परेको छ। शव जलेको अवस्थामा भेटिएपछि मृतकको पहिचान हुन सकेको छैन।

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा शुक्रबार बिहान आगलागी भएको थियो। कारमा आगो लागेको देखेपछि दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।

आगो निभाएपछि कारभित्र जाँच गर्ने क्रममा चालक बस्ने सिटमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीका कारण कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ।

शरीर जलेका कारण मृतकको सनाखत गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ।

कारमा आगलागी हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment