बारा, २६ भदौ । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु भएका पैदलयात्री युवकको पहिचान खुलेको छ।
मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलका १९ वर्षीय अलोक कुमार साह रहेका छन्।
शुक्रबार बिहान उनका बुबा सुभाष कुमार साह परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुगेर मृतक आफ्नै छोरा भएको पहिचान गरेका हुन्।
प्रहरीका अनुसार बिहीबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार दुर्घटनामा संलग्न सुमो र चालक प्रहरीको नियन्त्रणमा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

