नेपाल र यूएईबीच प्रिमियर कपको फाइनलमा कडा प्रतिस्पर्धा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ २७ । एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र संयुक्त अरब इमिरेट्सबीच आज फाइनल खेल भइरहेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
फाइनल जित्ने टोलीले उपाधि मात्र होइन, आगामी एसिया कपमा स्थान बनाउने अवसरसमेत पाउने भएकाले खेललाई दुवै टोलीले प्रतिष्ठाको विषय बनाएका छन्।

नेपाल यस प्रतियोगिताको पहिलो संस्करणको विजेता हो। सन् २०२३ मा भएको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई सात विकेटले हराएको थियो। दोस्रो संस्करणमा भने संयुक्त अरब इमिरेट्सले ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो।

यसपटक नेपाल समूह चरण र सेमिफाइनलसहित पाँच खेलमा चार जित निकाल्दै फाइनल पुगेको हो। संयुक्त अरब इमिरेट्सले भने प्रतियोगिताका सबै खेल जितेर अपराजित रूपमा अन्तिम दुईमा स्थान बनाएको छ।

दुवै टोलीबीचको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमा नेपाल केही अगाडि छ। हालसम्म भएका १९ खेलमध्ये नेपालले ११ र संयुक्त अरब इमिरेट्सले आठ खेल जितेका छन्। पछिल्ला पाँच भेटमा पनि नेपालले तीन खेलमा जित हात पारेको छ।
गत मेमा विश्वकप लिग–२ अन्तर्गत भएका दुई खेलमा नेपालले

संयुक्त अरब इमिरेट्सलाई दुवैपटक पराजित गरेको थियो। यही प्रदर्शनलाई निरन्तरता दिँदै नेपाल आज उपाधि आफ्नो नाममा पार्ने योजनामा छ।

Leave a Comment