काठमाडौं, ३ पुस
मुलुक चुनावी प्रक्रियातर्फ तीव्र गतिमा अघि बढिरहेको संकेत देखिन थालेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलदेखि आम नागरिकसम्म निर्वाचनको तयारीमा जुटिसकेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खरेलले अधिकांश राजनीतिक दलहरूले उम्मेदवार सिफारिसदेखि संगठनात्मक अभियानसम्म सुरु गरिसकेको बताए। उनका अनुसार गाउँदेखि शहरसम्म चुनाव केन्द्रित गतिविधि बढिरहेका छन्।
दलहरू महाधिवेशन, प्रशिक्षण र जनसम्पर्क अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उनले समानुपातिक तथा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस प्रक्रिया अघि बढिसकेको जानकारी दिए। “यसले स्पष्ट संकेत गर्छ कि देश व्यवहारिक रूपमा निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने।
मन्त्री खरेलका अनुसार सरकार पनि निर्वाचनलाई व्यवस्थित र सफल बनाउन आवश्यक सबै स्रोत, साधन र जनशक्ति परिचालनको तयारीमा छ। निर्वाचन आयोगले समेत द्रुत गतिमा काम गरिरहेको भन्दै उनले फागुन २१ गते तोकिएको निर्वाचन समयमै हुने विश्वास व्यक्त गरे।
यसपटकको निर्वाचनमा ८ लाखभन्दा बढी नयाँ मतदाता थपिनु चुनावी उत्साहको अर्को सूचक भएको मन्त्री खरेलको भनाइ छ। “जनतामा भोट हाल्ने चाहना देखिएको छ। निर्वाचन अब केवल प्रक्रिया मात्र होइन, महोत्सवकै रूप लिँदैछ,” उनले बताए।
सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा समेत अघि बढिरहेको दाबी गर्दै मन्त्री खरेलले जेन–जी आन्दोलनपछि प्राप्त म्याण्डेटअनुसार काम भइरहेको बताए। उनका अनुसार पछिल्लो तीन महिनामै ३० भन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दा अदालत पुगेका छन्।
“पहिले दबाब र प्रभावका कारण अघि बढ्न नसकेका मुद्दा अहिले स्वतन्त्र रूपमा अघि बढिरहेका छन्,” उनले भने, “राज्यका निकायहरूलाई स्वतन्त्र ढंगले काम गर्न दिने वातावरण सरकारले बनाइरहेको छ।”
निर्वाचनको तयारी, नयाँ मतदाताको उत्साह र राजनीतिक सक्रियताले देशमा चुनावी माहोल क्रमशः तातिँदै गएको देखिन्छ।






