काठमाडौं, भदौ २७ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसामु ३१४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक हो।
आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। अर्जुनले ४३ रन बनाए भने कप्तान रोहित पौडेलले ४० रनको योगदान गरे।
त्यस्तै गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। इशान पाण्डेसँग आसिफले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए भने रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ विकेट लिँदा हैदर अली र अदीब उस्मानीले समान १ विकेट लिए।
अब यूएईले उपाधि जित्न ५० ओभरमा ३१४ रन बनाउनुपर्नेछ। फाइनलमा नेपाल विजयी भएमा उसले एसीसी एसिया कपका लागि छनोट हुने अवसर प्राप्त गर्नेछ।

