बालिका बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ, स्थानीयको विरोधपछि प्रहरीले बल प्रयोग गर्‍यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज १ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय हसनजान मियाँलाई पक्राउ गरेको छ।
बालिकामाथि बलात्कार भएको सूचना पाएपछि बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपित मियाँलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले विरोध जनाएपछि केही समय घटनास्थल तनावग्रस्त बनेको थियो।

स्थानीयले आरोपितलाई कानुनी प्रक्रियामार्फत हुने कारबाही पर्याप्त नहुने भन्दै आफूहरूले नै कारबाही गर्ने बताएका थिए। त्यसक्रममा भीड अनियन्त्रित भएपछि थप प्रहरी टोली कलैयाबाट समेत घटनास्थल पुगेको थियो।

प्रहरीले बल प्रयोग गरी भीडलाई तितरबितर बनाएपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा लगिएको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बारामा पछिल्ला केही सातायता बालिकामाथि हुने गम्भीर आपराधिक घटनाका कारण स्थानीयस्तरमा चिन्ता बढेको छ। यसअघि जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो।

Leave a Comment