असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बाराका सभापति यादवको आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, २ असोज-नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले पार्टीको आधिकारिक निर्णयअनुसार हुने वडा अधिवेशनमा मात्र सहभागी हुन जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
सभापति यादवले शुक्रबार बाराको सदरमुकाम कलैया स्थित नेपाली काँग्रेस पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता–कार्यकर्तालाई हार्दिक अनुरोध गर्नु भएको हो ।
उहाँले असोज ३ र ४ गते गर्न लागिएको भनिएको वडा अधिवेशनलाई “कथित वडा अधिवेशन” को संज्ञा दिँदै त्यसमा सहभागी नहुन आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो “नेपाली कांग्रेस बाराका सम्पूर्ण नेता कार्यकर्तामा जय नेपाल । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।”
यादवका अनुसार वडा अधिवेशनअघि क्रियाशील सदस्यहरूको नवीकरण तथा नयाँ सदस्यताको विवरण फाइनल गरिनेछ । त्यसपछि रिक्त रहेका पार्टीका पदहरू आवश्यक प्रक्रिया पूरा गरी मनोनीत मार्फत पदपूर्ति गरिने तयारी रहेको जानकारी दिनुभयो ।
क्रियाशील सदस्यताको विवरण टुंगो लगाएपछि मात्र अधिवेशनको प्रक्रिया अघि बढाउने यादवको भनाइ छ।
उहाँले थप आग्रह गर्दै भन्नुभयो,“असोज ३ र ४ गते गर्न लागिएको कथित वडा अधिवेशनमा सहभागी नहुन समेत सम्पूर्ण नेता कार्यकर्तालाई हार्दिक आग्रह गर्दछु ।”
सभापति यादवको यो अपिलसँगै नेपाली कांग्रेस बारामा वडा अधिवेशनको मिति र प्रक्रियालाई लिएर देखिएको विवाद थप सार्वजनिक भएको छ। पार्टीका नेता तथा कार्यकर्ताबीच आधिकारिक अधिवेशनमा सहभागी हुने विषयमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति रामप्रवेश यादव, क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति सुनिल गुप्ता, पूर्व राज्य मन्त्री कलावती पासवान, पार्टी प्रवक्ता चन्द्रिका गुप्ता , प्रदेश समीति सदस्य अतिउर रहमान, पूर्व उपसभापति हरेन्द्र यादव लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Comment