सर्लाही कांग्रेसका कार्यवाहक सभापति र क्षेत्रीय सभापतिले दिए राजीनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सर्लाही, असोज २ । नेपाली कांग्रेस सर्लाहीमा पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार र क्षेत्रीय सभापति भिखारी ठाकुरले राजीनामा दिएका छन्।
कार्यवाहक सभापति सरोजकुमारले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीसँगै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। उनले पार्टीका केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै राजीनामा बुझाएका छन्।
राजीनामाको कारणका रूपमा उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका क्रममा अनियमितता भएको आरोप लगाएका छन्। लोकतान्त्रिक मूल्य, मान्यता र पार्टीको विधि तथा प्रक्रियाअनुसार सदस्यता वितरण नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अघि सारेका राजनीतिक आदर्शबाट पार्टी विचलित भएको दाबीसमेत गरेका छन्।
स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेका व्यक्तिलाई कारबाही गर्नुको सट्टा क्रियाशील सदस्यता दिने तथा नवीकरण गर्ने काम भएको आरोप पनि उनले लगाएका छन्।
यस्ता गतिविधिले पार्टीका नेता तथा कार्यकर्ताको भावनामा गम्भीर असर परेको उल्लेख गर्दै उनले आफू पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट अलग हुने निर्णयमा पुगेको बताएका छन्। उनले आफ्नो राजीनामा तत्काल स्वीकृत गर्न आग्रह गरेका छन्।
यसैबीच, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का क्षेत्रीय सभापति भिखारी ठाकुरले पनि पद तथा साधारण सदस्यतासमेत त्याग्ने गरी राजीनामा दिएका छन्।
ठाकुरले क्रियाशील सदस्यताको नामावली तयार गरी पठाउने क्रममा पूर्वाग्रही ढंगले धाँधली गरिएको आरोप लगाएका छन्। क्षेत्र नम्बर २ ‘ख’ को क्रियाशील सदस्यताको नामावली हेर्दा आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले आजैदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन्।
दुवै नेताको राजीनामाले सर्लाही कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर रहेको असन्तुष्टि थप सतहमा आएको छ।

Leave a Comment