कालीकोटमा जिप दुर्घटना : तिला नदीमा खस्दा तीन मजदुरको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मान्म (कालीकोट), माघ ३
कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरी क्षेत्रमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सेरी–पान्तडी सडक खण्डमा उकालो चढ्ने क्रममा जिप अनियन्त्रित भई तिला नदीमा खसेको हो ।

प्रहरीका अनुसार भे१ज २८९८ नम्बरको जिप साँझ करिब ६ बजे अचानक ब्याक भएर सडकबाट झण्डै ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । जिपमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिकाका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका–२ का सहचालक नवराज शाही रहेका छन् । उनीहरू तीनै जना सेरी–पान्तडी सडक निर्माणमा संलग्न मजदुर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा शवहरू भीरबाट निकालेर सडकसम्म ल्याइएको छ । मृतकका आफन्त बोलाएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव सदरमुकाम मान्म लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप तिला नदीको किनारमा पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको छ । जिप चालक भने प्रहरीको सम्पर्कमा आएको र घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलसहित प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

Leave a Comment