काठमाडौं, ६ चैत-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको गृहकार्यमा सक्रिय भएको छ। पार्टीले १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी अघि बढाएको छ।
बिहीबार पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच नयाँ सरकार गठनबारे छलफल भएको थियो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार चैत १३ गते नयाँ सरकार गठन गर्ने तयारी छ। सोही दिन बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिने सम्भावना रहेको उनले बताए।
उनका अनुसार प्रधानमन्त्रीको शपथलगत्तै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी गरिएको छ। यससम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको र संवैधानिक निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।
मन्त्रालय घटाउने योजना
हाल रहेका २२ मन्त्रालयलाई घटाएर बढीमा १८ मा झार्ने रास्वपाको योजना छ। पार्टीको वाचापत्रअनुसार सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने लक्ष्य राखिएको छ।
मन्त्रालय घटाउने क्रममा केही मन्त्रालय गाभ्ने वा एउटै मन्त्रीलाई दुई वा बढी मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ। साथै, यसपटक राज्यमन्त्री नराख्ने तयारीसमेत गरिएको छ।
नेतृत्व चयनको तयारी
चैत १२ गते सांसदहरूको शपथपछि रास्वपा संसदीय दलको बैठक बस्नेछ। सोही बैठकले संसदीय दलको नेता चयन गर्नेछ।
यसअघि भएको राजनीतिक सहमतिअनुसार बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिएको छ।
हाल मन्त्रिपरिषद्को संरचना, मन्त्रालय संख्या र मन्त्री चयनबारे पार्टीभित्र अन्तिम छलफल जारी रहेको छ।

