गुटबन्दी नगर्न रवि लामिछानेको चेतावनी, मन्त्री चयनबारे अझै निर्णय छैन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

चैत ४, २०८२, काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति ले पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिँदै अहिलेसम्म मन्त्री चयनबारे कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

बुधबार नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गरे। “गुट बनाएर राजनीति गर्ने हो भने पुराना दललाई जित्न सकिँदैन,” उनले भने, “घण्टीभित्र सबै अटाउन सक्छौँ, छुट्टै गुट बनाउन आवश्यक छैन।”

सरकारमा सहभागिताबारे अनावश्यक ‘मिडिया ट्रायल’ नगर्न पनि उनले आग्रह गरे। मन्त्री बन्ने आकांक्षा राखेर प्रचारमा लाग्नु उपयुक्त नहुने भन्दै उनले हालसम्म कसलाई क्याबिनेटमा पठाउने भन्ने निर्णय नभएको बताए।

लामिछानेले सांसदहरूलाई ‘म केन्द्रित’ सोच त्यागेर ‘जनता केन्द्रित’ राजनीतिमा लाग्न सुझाव दिए। “देशले देखेको सपना पूरा गर्नु हाम्रो दायित्व हो, व्यक्तिगत पदको सपना बोक्न समाज बाध्य छैन,” उनले भने।

उनले पार्टीले सबैको क्षमता र योगदान मूल्यांकन गरेर उचित निर्णय गर्ने विश्वास व्यक्त गरे। “हामी सबैलाई हेरेका छौँ, कसैलाई भन्नु पर्दैन,” उनले भने।

संविधानप्रति प्रतिबद्धता दोहोर्‍याए

कार्यक्रममै सभापति लामिछानेले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

“म लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छु,” उनले भने, “वर्तमान संविधान र व्यवस्थाप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन र डगमगाउने पनि छैन।”

यद्यपि उनले शासकीय स्वरूपमा आवश्यक सुधार गर्न सकिने संकेत गरे। “समय अनुसार केही सुधार आवश्यक हुन सक्छ, तर मूल व्यवस्था र परिवर्तनप्रति हाम्रो अडान स्पष्ट छ,” उनले बताए।

उनले सांसदहरूलाई संविधान र व्यवस्थालाई मजबुत बनाउने दिशामा काम गर्न आग्रह गर्दै जनताको विश्वासलाई प्राथमिकता दिनुपर्ने बताए।

Leave a Comment