बारा, असोज ४ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सञ्जना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज ३ गते साँझ करिब ५ः३० बजे होटलमा जितपुरसिमरा–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कालाई जितपुरसिमरा–१६ बस्ने २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट खड्काको घाँटीमा चोट लागेपछि उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा सोही दिन साँझ करिब ६ः४० बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले राति करिब १० बजे जितपुरसिमरा उपमहानगरपालिका–१६ धानबारीस्थित स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुरसिमरा–२ बस्ने ३५ वर्षीय बिन्दु तामाङ, जितपुरसिमरा–२ बस्ने ३० वर्षीय रामबहादुर तिमिल्सिना, सोही स्थानका २३ वर्षीय रत्न पाख्रिन तामाङ, जितपुरसिमरा–१६ बस्ने ४३ वर्षीय शान्ति राई र ४० वर्षीय सिता थापा मगर रहेका छन्।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमरा बाराबाट घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

