काठमाडौँ, असोज ५ । काठमाडौँको त्रिपुरेश्वरमा यात्रु चढाउने क्रममा रोकिराखेको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। घाइते चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीका कारण बस पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनाका बेला बसमा यात्रु भने नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट चालक घाइते भएका हुन्। आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।
यसअघि आइतबार राति काठमाडौँकै बालाजुमा पनि एउटा बसमा आगलागी भएको थियो। उक्त घटनामा चालक र सहचालक घाइते भएका थिए।

