समानुपातिकमा ६४ दल मैदानमा, ११० सिटका लागि ३४२४ उम्मेदवारको प्रतिस्पर्धा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ पुस २०८२, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगका अनुसार दर्ता भएका १०० दलमध्ये निर्धारित समयभित्र ६४ दलले मात्रै समानुपातिक सूची बुझाएका हुन् ।

समानुपातिकतर्फ कुल ११० सिटका लागि ३ हजार ४२४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार र मंगलबार गरी दुई दिनभित्र ती दलहरूले सूची बुझाएका हुन् ।

यसपटक केही दलले संयुक्त रूपमा एउटै चुनाव चिह्न प्रयोग गर्दै निर्वाचन लड्ने भएका छन् । आयोगका अनुसार ६४ दलले जम्मा ५८ वटा चुनाव चिह्न प्रयोग गर्नेछन् । तीमध्ये ५४ दलले आ–आफ्नै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिँदा १० दल भने चार वटा साझा चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी हुँदैछन् ।

समानुपातिक सूची बुझाउने दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस (बीपी), नेकपा माओवादी, राप्रपा, जनमत पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्र निर्माण पार्टी, संयुक्त नागरिक पार्टी, जनअधिकार पार्टी, बहुजन शक्ति पार्टी, नेपाल श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टीलगायतका दलहरू रहेका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवार सूचीको प्रारम्भिक जाँचपछि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

Leave a Comment