बंगालको खाडीको शक्तिशाली प्रणालीको प्रभाव नेपालमा बुधबारदेखि, भारी वर्षाको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ६-बंगालको खाडीमा विकसित भइरहेको शक्तिशाली न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा बुधबारदेखि देखिने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले देशका विभिन्न क्षेत्रमा वर्षा बढ्ने जनाएको छ।

महाशाखाले मंगलबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली भएर ‘डिप डिप्रेसन’मा परिणत हुने सम्भावना छ। यसको प्रभावले बुधबारदेखि कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्दै जाने पूर्वानुमान गरिएको छ।

असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।

मधेस प्रदेशसहित कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने तथा ठूला–साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसँगै नदी आसपासका निर्माण कार्यसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था बुझेर कृषि विज्ञको सल्लाहअनुसार काम गर्न आग्रह गरिएको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

Leave a Comment