काठमाडौं, असोज ७-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालसहित विकासशील मुलुकहरूले जलवायु परिवर्तनको असर सबैभन्दा बढी भोग्नुपरे पनि त्यसको जिम्मेवारी तुलनात्मक रूपमा कम रहेको बताएका छन्।
उनले यस्ता राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न विकसित तथा धनी देशहरूले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुटेरेसले विश्वमा आर्थिक असमानता बढ्दै गएको र विकासशील देशहरू ऋणको दबाब तथा जलवायुजन्य विपत्तिको दोहोरो मारमा परेको बताए।
उनले विकासशील राष्ट्रका लागि ऋण राहतको प्रक्रिया छिटो अघि बढाउनुपर्ने, बहुपक्षीय विकास बैंकहरूलाई थप प्रभावकारी बनाउनुपर्ने तथा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्बन्धित विशेष आहरण अधिकारमा सबै मुलुकको न्यायपूर्ण पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राखे।
नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे आफूले तीन वर्षअघि नै चेतावनी दिएको स्मरण गर्दै गुटेरेसले पछिल्ला घटनाले त्यस्ता चेतावनीको गम्भीरता पुष्टि गरेको बताए। हिमालमा हिउँ तीव्र गतिमा पग्लिनु जलवायु संकटको स्पष्ट संकेत भएको उनको भनाइ थियो।
जलवायु परिवर्तनको मूल्य कमजोर र कम जिम्मेवार देशहरूले चुकाइरहेको उल्लेख गर्दै उनले प्रदूषणमा बढी योगदान गर्ने मुलुकहरूले त्यसको आर्थिक जिम्मेवारी लिनुपर्ने बताए। प्रभावित राष्ट्रले न्याय पाउनुपर्ने र जलवायु न्यायलाई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए।
जलवायु संकटसँग जुध्न आवश्यक वित्तीय स्रोत पर्याप्त नभएको भन्दै गुटेरेसले विकसित राष्ट्रहरूलाई आफ्ना जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे। उनले अनुकूलनका लागि उपलब्ध वित्तीय सहयोग बढाउन र ‘हानि तथा नोक्सानी कोष’लाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए।
उनले जलवायु परिवर्तनलाई पुस्ताबीचको गम्भीर असन्तुलनका रूपमा व्याख्या गर्दै विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रयास चुनौतीपूर्ण बन्दै गएको चेतावनी दिए। उनका अनुसार जलवायु परिवर्तनमा कम जिम्मेवार समुदाय र देशहरूले नै यसको गम्भीर असर पहिले भोगिरहेका छन्।
महासचिव गुटेरेसले विश्वमा बढ्दो युद्ध, नागरिकमाथिको आक्रमण, मानवीय सहायता कार्यकर्तामाथिको जोखिम, अन्तर्राष्ट्रिय कानुनप्रतिको बेवास्ता र राष्ट्रहरूबीच कमजोर हुँदै गएको विश्वासप्रति पनि चिन्ता व्यक्त गरे। विश्वका विभिन्न विभाजन झन् गहिरिँदै गएको भन्दै उनले अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्ने बताए।
उनले विश्वलाई अलग–अलग आर्थिक तथा सुरक्षा समूहमा विभाजित हुनबाट रोक्दै साझा नियम र पारस्परिक निर्भरतामा आधारित विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए।
प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धमा पनि गुटेरेसले सावधानी अपनाउनुपर्नेमा जोड दिए। प्रविधि आफैंभन्दा पनि उत्तरदायित्व र नियमनबिनाको प्रयोग जोखिमपूर्ण हुने उनको भनाइ थियो। बालबालिकालाई अनियन्त्रित प्रविधिको परीक्षणको माध्यम बनाउन नहुने तथा जीवन र मृत्युसँग सम्बन्धित निर्णय मेसिनको जिम्मामा छाड्न नहुने उनले बताए।
घातक स्वचालित हतियार अर्थात् ‘किलर रोबोट’को प्रयोगलाई भविष्यमा समेत रोक्नुपर्ने धारणा राख्दै गुटेरेसले प्रविधिको विकास मानवहित र उत्तरदायित्वका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए।

