मेघालयको अवैध कोइला खानीमा विस्फोटः १८ जनाको मृत्यु, दर्जनौँ अझै फसेको आशंका

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २३ माघ २०८२ । भारतको उत्तर–पूर्वी राज्य मेघालयमा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको ज्यान गएको छ। ‘इस्ट जयन्तिया हिल्स’ जिल्लास्थित खानीमा २२ माघ २०८२ (बिहीबार) भएको उक्त घटनामा अन्य धेरै कामदार अझै खानीभित्र फसेको आशंका गरिएको छ।

प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको डायनामाइट विस्फोट हुँदा विषाक्त ग्यास फैलिएको र सुरुङ भत्किँदा ठूलो क्षति पुगेको हो। हालसम्म १८ जनाको शव बाहिर निकालिएको छ भने ८ जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने अनुमान गरिएको छ।

मृतकहरूमा नेपालका खोटाङ जिल्लाका दुई दाजु–भाइ पनि परेका छन्। उनीहरू रोजगारीका लागि भारत गएर जोखिमपूर्ण खानीमा काम गरिरहेका थिए।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई जनही २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। यसैगरी मेघालय राज्य सरकारले मृतकका परिवारलाई थप ३ लाख भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ।

उल्लेखनीय छ, मेघालयमा ‘रेट–होल’ प्रविधिबाट कोइला खानी खन्ने काम सन् २०१४ देखि नै प्रतिबन्धित छ। तर उच्च ज्यालाको लोभमा नेपालीसहित विभिन्न राज्यका श्रमिकहरू ज्यान जोखिममा राख्दै यस्ता अवैध खानीमा काम गर्न बाध्य हुँदै आएका छन्।

Leave a Comment