सञ्चारमन्त्री तिमिल्सिनाको टिप्पणी : पत्रकारिता क्षेत्रको साख जोगाउने जिम्मेवारी पत्रकारकै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज ७-सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रको व्यावसायिकता र विश्वसनीयतामाथि पछिल्लो समय प्रश्न उठ्न थालेको बताएका छन्।

‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रको गरिमा र साख कायम राख्ने दायित्व स्वयं पत्रकारहरूको रहेको बताए।

उनले पत्रकारिता कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई आफैँमा एउटा संस्थागत क्षेत्र भएको उल्लेख गर्दै यसको विकास र संरक्षणमा पत्रकार तथा सम्बन्धित संस्थाहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले नेपाल पत्रकार महासंघलाई लक्षित गर्दै पत्रकारिता क्षेत्रको संरक्षणको जिम्मेवारी कुनै एक संस्थाले मात्र लिएको जस्तो व्यवहार गर्न नहुने टिप्पणी गरे। उनले पत्रकारिताको संरक्षण र सुधारमा अपेक्षित भूमिका निर्वाह हुन नसकेको भन्दै संस्थागत कमजोरीप्रति प्रश्न उठाए।

मन्त्री तिमिल्सिनाले आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि काम गरिरहेको दाबी गरे। उनले विद्यमान बेथिति र कमजोरीको वास्तविक कारण पहिचान गरेर संस्थागत समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

उनले सञ्चार क्षेत्रका कतिपय संस्थासँग अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई पेन्सन तथा अन्य सुविधा उपलब्ध गराउन कठिनाइ भइरहेको अवस्थासमेत उल्लेख गरे।

पत्रकारिता क्षेत्रको वर्तमान अवस्था सुधार गर्न व्यावसायिकता, संस्थागत जवाफदेहिता र पत्रकारको जिम्मेवारीलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

Leave a Comment