देशभर वर्षा, भारी पानीको सम्भावना; कलैयाका विद्यालय दुई दिन बन्द

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, कलैया । देशभर नै वर्षा भइरहेको छ। काठमाडौं उपत्यकादेखि तराई, पहाड र हिमाली क्षेत्रसम्म विभिन्न स्थानमा पानी परिरहेको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली तथा मनसुनी र पश्चिमी वायुको प्रभावका कारण आगामी केही दिन वर्षा अझ सक्रिय हुने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षासमेत भइरहेको छ। पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा भएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ भने कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पालगायत आसपासका क्षेत्रमा खोलानालाको पानीको सतह बढ्दो क्रममा छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने तथा मधेश र कोशीका तराई क्षेत्रमा हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको छ। त्यसका कारण बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
कलैयाका विद्यालय दुई दिन बन्द
सम्भावित खराब मौसम र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कलैया उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा असोज ८ गते बिहीबार र ९ गते शुक्रबार दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले समेत भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको थियो। सोही आधारमा कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले दुई दिन विद्यालय बन्द रहने जानकारी दिएको हो।
उपमहानगरपालिकाले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनसमेत आग्रह गरेको छ।
यसैबीच, भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। सडक विभागले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

Leave a Comment