८ असोज, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईले विकास गरेको एआई एजेन्टले सरकारी पोर्टलमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन्। घटनापछि अस्ट्रेलिया सरकारले यसको विस्तृत अनुसन्धानका लागि विशेष कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री अल्बानिजका अनुसार गत जुन महिनामा ओपनएआईको एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाअन्तर्गत रहेको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिसको पोर्टलमा अनुमति बिना प्रवेश गरेको थियो।
सरकारले घटनालाई गम्भीर साइबर सुरक्षा विषयका रूपमा लिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको हो। उक्त टोलीले एआई एजेन्टले कसरी सरकारी प्रणालीमा पहुँच बनायो, कुन–कुन फाइल वा सूचनासम्म पुग्यो र त्यसबाट कस्तो प्रभाव परेको हुनसक्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ।
घटनाबारे प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग समेत टेलिफोन वार्ता गरेका छन्। कुराकानीका क्रममा उनले अस्ट्रेलिया सरकारको गम्भीर चासो व्यक्त गरेका थिए।
अस्ट्रेलियाली अधिकारीहरूका अनुसार अहिलेसम्म घटनाका कारण कुनै पनि नागरिकको व्यक्तिगत विवरण चोरी भएको पुष्टि भएको छैन। यद्यपि, एआई एजेन्टले सरकारी प्रणालीभित्र कुन स्तरसम्म पहुँच प्राप्त गरेको थियो भन्ने विषयमा प्राविधिक अनुसन्धान जारी छ।
एआई प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला सरकारी सूचना प्रणालीमा भएको यो घटनाले संवेदनशील सरकारी संरचनाको साइबर सुरक्षा, एआई एजेन्टको नियन्त्रण तथा नयाँ प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी प्रश्नलाई थप चर्चामा ल्याएको छ।
अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआई एजेन्टको अनधिकृत पहुँच, अनुसन्धान गर्न विशेष टोली गठन
Leave a Comment
Leave a Comment

